Posts

Showing posts with the label nepali poem

इच्छा - बाल कृष्ण सम

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१। “यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको” यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२। बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिदै उत्तर हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ । मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस् नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३। नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ, पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।

रक्शीमाथि दुई टुक्रा - हरिभक्त कटुवाल

सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मिठो निहु पाइएको छ रक्शी बनइदिने पहिलो स्रस्टालाई अर्को सलाम | म आफ्नै बाटो हिडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइदिएको हुन्छ म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ विश्वास गर! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्शीसित कहिले मैले उसलाई खाइरहेको हुन्छु कहिले उसले मलाई खाइरहेको हुन्छ | कटुवाल, ह. (२०२९)यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.

भोलिको नेपाल - हरिभक्त कटुवाल

A poem written more than 40 years ago . . . ती जो बिहानै काखीमा पुस्तकको ठेली च्यापेर हुलक हुल निस्किरहेछन् गल्ली-गल्लीबाट तिनलाई बाटो छोडिदेऊ ! ती लहर जस्तै उर्लेर आएरहेछन् | यी घर - जसलाई हामी घर ठानिरहेका छौ यी सडक - जसलाई हामी सडक भनिरहेका छौ यी मन्दिर - जसलाई हामी मन्दिर सम्झिरहेका छौ यी केहि पनि प्रसस्त हुने छैनन् उनीहरुक लागि | ती त सपना बोकेर आएरहेछन - निर्माणक गीत गाउदै उनीहरुलाई छेक्न नखोज ! आफुलाई चाहिने घर आफुलाई चाहिने सडक आफुलाई चाहिने मन्दिर उनीहरु आफै बनाउनेछन् निश्चित छ - भोलिको नेपाल उनीहरुले चाहे जस्तै हुनेछ | कटुवाल, ह. (२०२९)यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.

मुक्त - हरिभक्त कटुवाल

मुक्त त ढुंगा हुन्छ न उसको दुख्ने मुटु हुन्छ न देख्ने आँखा हुन्छ कसैले पर्खाल लगाए, पर्खाल बन्छ सडक बनाए, सडक बन्छ सायद त्येसैले त्येसको पूजा हुन्छ ऊ ईश्वर बन्छ | कटुवाल, ह. (२०२९) यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.

यात्री - महाकवि लक्ष्मीप्रसाद देवकोटा (कविता)

"यात्री" ~ महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार ! मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार ! नसा-नदीका तरल तर, मन्दिर आफू अपार ! कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ? मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज ! चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज ! शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ। भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर? खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर ? साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ । सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दु:खको गानामा दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा । कुन मन्दिरमा जान्छौ यात्री, कुन नव-देश बिरानामा? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ! मलम ...